रसुवा- भोटेकोसीमा आएको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ विज्ञ टोली सिधै रसुवा पुग्ने भएको छ।
रसुवास्थित सुरक्षा स्रोतका अनुसार चिनियाँ सेनाको टोली केही समयमै रसुवा आइपुग्नेछ। टोलीमा चीनको जनमुक्ति सेनाका सुरुङ उद्धारसम्बन्धी चार जना विज्ञ रहनेछन्।
बुधबार आएको बाढीपछि रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा नेपाली तथा विदेशी इन्जिनियर, प्राविधिक र कामदार फसेका छन्। उनीहरूको उद्धारका लागि चीनले हेलिकप्टरमार्फत विज्ञसहितको टोली नेपाल पठाउन लागेको हो।
सुरुङमा फसेका सयौँ व्यक्तिको उद्धारका लागि नेपाली सेनाले प्रयास गरिरहेको छ। कठिन तथा जटिल उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारले चीन र भारतबाट सहयोग लिने निर्णय गरेको हो।
सरकारले चीन र भारतबाट सहयोग लिने निर्णय शुक्रबार राति मात्रै गरेको बताइएको छ। उद्धारका लागि विदेशी सहयोग लिन ढिलाइ गरिएको भन्दै सरकारको आलोचनासमेत भइरहेको छ।
सरकारको निर्णयपछि भारतको ‘टनेल रेस्क्यु’ टोली शुक्रबार राति नै काठमाडौं आइपुगेको छ। अब चिनियाँ विज्ञ टोली पनि रसुवा पुगेर उद्धार कार्यमा नेपाली सुरक्षाकर्मी तथा प्राविधिक टोलीसँग सहकार्य गर्नेछ।

.gif)



