सामूहिक गौहत्या गर्नेलाई कारवाही गर्न माग
काठमाडौं - सामूहिक गौहत्या गर्ने कार्यमा संलग्नमाथि कारबाही गर्न विभिन्न राजनीतिक दल, सरोकारवाला र जनस्तरबाट माग भएको छ ।
बाँकेको नेपालगञ्जस्थित काञ्जीहाउसबाट दैलेख लगिँदै गरिएको २९१ गाई र गोरुमध्ये २५ गाई र गोरु वीरेन्द्रनगरको कटकुवा जङ्गलमा शुक्रबार मृत भेटिएका थिए । कतिपय गाई र गोरु भिरमा तथा केही सडक छेउछाउमा मृत फेला परेका थिए । स्थानीयवासीले भने गाई र गोरुलाई भिरबाट लडाएर मारेको आरोप लगाएका छन् । उनीहरूले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले नेपालगञ्ज बजारमा छाडा रहेका गाई र गोरुलाई दैलेखको धार्मिक क्षेत्र श्रीस्थानमा छाड्नका लागि लैजाने क्रममा बाटोमा घटना भएको जानकारी दिए ।
छाडा पशु चौपायाको व्यवस्थापनमा नेपालगञ्ज उपमहानगरपालिकाले चरम लापरवाही गरेका कारण पनि यो घटना हुन पुगेको बताइएको छ ।
गाई र गोरु मृत्यु घटनाबारे अनुसन्धान गर्न सात जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रावलले बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलले बिहीबार दैलेखको श्रीस्थानमा छाड्नका लागि गाई र गोरु लगिएको जानकारी दिए । “गाई र गोरुसँगै नगरप्रहरीको टोलीसमेत पठाएका थियौँ, बीच बीचमा कोही व्यक्तिले गाई र गोरु लिन चाहेमा उनीहरूलाई बाँड्दै जाने गरी पठाएका थियोँ”, पौडेलले भने । आठ ट्रकमा २९१ गाई र गोरु नेपालगञ्जबाट पठाइएको उनले बताए ।
फेसबुक पेज Like गर्नुहोस