प्रतिनिधिसभाको बैठक एक साताका लागि सर्यो
काठमाडौं - प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ। आज १ बजेका लागि डाकिएको बैठक सूचनामार्फत् साउन ८ गतेका लागि सारिएको हो।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सांसदहरू बाढी र पहिरो पीडितलाई राहत र उद्धारमा जुट्नुपर्ने भएकाले बैठक स्थगित गरिएको जानकारी दिए।‘सांसदहरू राहत र उद्धारका लागि जिल्ला जानुपर्ने भएकाले बैठक स्थगित भएको हो,’ योगीले भने।
त्यसो त प्रतिनिधिसभाको अघिल्लो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरूद्ध पारेको थियो।
सर्लाहीमा भएको कुमार पौडेल र सरोजनारायण सिंह हत्याको विषयमा गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ। तर, सत्तारूढ नेकपाले संसदीय छानबिन समिति गठन गर्ने अस्वीकार गर्दै आएको छ।
स्रोतका अनुसार आज बिहानै सभामुख कृष्णबहादुर महराले सत्तापक्ष र प्रतिपक्षी दलका सचेतकहरूसँग छलफल गरेका थिए।छलफलमा सहमति हुन नसकेपछि बैठक सूचनामार्फत् स्थगित गरिएको हो।
फेसबुक पेज Like गर्नुहोस