काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिल्यान्यास गर्ने भएका छन् । अपराह्न ३ बजे ओलीले चन्द्रागिरी नगरपालिका– १ टुटेपाखामा सुरुङमार्गको शिलान्यास गर्न लागेका हुन् । 

नागढुंगामा सुरुङमार्ग निर्माणपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी जाम नहुने अनुमान छ । सुरुङमार्ग निर्माणपछि नागढुंगादेखि सिस्नेखोलासम्म चार किलोमिटर दूरी घट्नेछ । निर्माण कार्य ४२ महिनामा सक्ने लक्ष्य छ । सुरुङमार्ग निर्माणका लागि भ्याट र अनुगमनसहित १६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

नागढुंगा– सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि ६ असोजमा विभाग र जापानी निर्माण कम्पनी हाज्माअन्द्रोबीच सम्झौता भएको थियो । सुरुङमार्ग निर्माणका लागि आवश्यक उपकरणसहित काम गर्न जापानीज टोली तयारी अबस्थामा रहेको छ ।

सम्झौता अनुसार टुटेपाखादेखि सिस्नेखोलासम्म दुई वटा सुरुङ निर्माण हुनेछन् । नियमित सवारी सञ्चालनका लागि साढे नौ मिटर चौडाइको र आपतकालीन अवस्थाका लागि चार मिटर चौडा गरी दुई सुरुङमार्ग निर्माण हुनेछ । दुबै सुरुङमार्गको लम्बाई २.७ किलोमिटर हुनेछ । ठूलो सुरुङभित्र तीन लेनमा सवारी चल्नेछन् ।

सुरुङमार्ग निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १६ अर्ब रुपैयाँ ऋण उपलब्ध गराएको छ । सोही ऋणबाट सुरुङमार्ग निर्माण गर्न लागिएको हो । ४० वर्षमा तिर्ने गरी लिइने ऋणको वार्षिक ब्याज दर ०.०१ प्रतिशत हुने सहमति छ ।