काठमाडौं - रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले दुई दिनदेखि निरन्तर प्रयास गरिरहेको छ।

शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्र पारिएको छ।

सुरुङभित्र मानिसहरू फसेको जानकारी प्राप्त भएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको मुख खोल्ने काम अघि बढाएको हो।

उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन शुक्रबार रातिदेखि नै नेपाली सेनाका ६२ र सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका २० गरी ८२ जनाको संयुक्त टोली घटनास्थलमा निरन्तर खटिएको छ।

तर, क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। सुरुङभित्रको अवस्था र फसेका मानिसहरूको यकिन विवरणबारे उद्धार टोलीले निरन्तर खोजी गरिरहेको छ।

यसैबीच, उद्धारमा सहयोग गर्न नेपाल आएको भारतीय टोली त्रिशूली पुगेको छ। टोलीले हेलिकोप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रमा प्रारम्भिक अनुगमन (रेकी) गर्नेछ।

प्रारम्भिक अनुगमनपछि आवश्यकताका आधारमा थप उद्धार जनशक्ति तथा उपकरण परिचालन गर्ने योजना रहेको जनाइएको छ।