धरानमा कोरोना परीक्षण शुरु
धरान - धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस कोभिड–१९ को नमूना परीक्षण शुरु गरिएको छ । स्वास्थ्य मन्त्रालयले उपत्यका बाहिर धरानबाट पहिलो पटक नमूना परीक्षण शुरु गरिएको जानकारी दिएको हो ।
चीनबाट स्वास्थ्य सामग्री आइपुगेकाले केही दिनमै हेटौँडा, नेपालगञ्ज र पोखरामा पनि नमूना परीक्षण शुरु हुने मन्त्रालयले जानकारी दिएको छ । उपचारको लागि चाहिने उपकरण ल्याउने र व्यवस्थापन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको हो ।
राजधानी बाहिरबाट नमुना ल्याउन ढिलो र जटिल हुने भएकाले मन्त्रालयले परीक्षण केन्द्र विस्तार गर्न लागेको हो । सङ्क्रमण परीक्षणको दर बढाउन र त्यो सुविधा राजधानी बाहिर विस्तार गर्न चीनबाट आज परीक्षण कीट आएपछि सहज हुने मन्त्रालयको विश्वास छ ।
यसैबीच जनकपुर र वीरगञ्जमा पनि कोरोना संक्रमितको उपचार शुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुर र नेशनल मेडिकल कलेज वीरगञ्जमा कोरोना संक्रमितको उपचारको व्यवस्था गरिएको हो ।
फेसबुक पेज Like गर्नुहोस