काठमाडौं -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुरको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

शुक्रबार सर्वोच्चमा रिट निवेदन दर्ता भएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

उक्त आदेशपछि उनलाई सोही रात बूढानीलकण्ठ निवासबाट पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा राखिएको थियो ।लामिछानेलाई एक दिन काठमाडौं र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो ।

उच्चको आदेश जिल्ला नपुग्दै प्रहरीले सोही राति नियन्त्रणमा लिएको, न्यायिक प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा पक्राउ गरिएको आरोप रास्वपाको छ । गत चैत २२ गते उच्च अदालत बुटवलको तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको थियो ।