काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भदौ ८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री बनेका थापाले सोमबार दिउँसो १ बजे विश्वासको मत लिन लागेका हुन्।

यसअघि भदौ ७ गते विश्वासको मत लिने तयारी गरेका थापाले मिति संशोधन गर्दै भदौ ८ गतेका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव गरेका थिए। सोहीअनुसार प्रदेशसभा सचिवालय, हेटौँडाले सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाएको छ।

प्रदेशसभा सचिवालयका अनुसार बैठकको कार्यसूचीमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रस्ताव समावेश गरिएको छ। मुख्यमन्त्री थापाका अनुसार गृहजिल्ला जाने कार्यक्रम तथा अन्य दलको सुझावका आधारमा विश्वासको मत लिने मिति सारिएको हो।

आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर विश्वासको मतसम्बन्धी प्रक्रिया टुंग्याइनेछ भने सोमबार मत विभाजनको प्रक्रिया अघि बढाइनेछ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि थापाले भदौ ३ गते दाबी पेस गरेका थिए। उनी भदौ ४ गते बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

१०४ सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री थापाले शपथ लिएकै दिन ६ जना मन्त्री नियुक्त गरेका थिए।

विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री थापा रहेका छन्।