काठमाडौं - चीनको तिब्बतमा पहिरोका कारण बनेको तालको जलस्तर बढ्दै गएपछि थप बाढीको जोखिम उत्पन्न भएको छ ।
जोखिम बढेपछि चीनले प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेको उद्धार अभियान अस्थायी रूपमा स्थगित गरेको छ ।
अलजजिराले चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएअनुसार चिनियाँ सरकारले उद्धारमा खटिएका टोलीलाई घटनास्थलबाट एक किलोमिटर टाढा सुरक्षित स्थानमा हट्न निर्देशन दिएको छ।
विनाशकारी पहिरो गएको दुई दिन बितिसक्दा पनि तिब्बतमा सयौँ मानिस बेपत्ता रहेको बताइएको छ। चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार चीन–नेपाल सीमा क्षेत्रमा पहिरोपछि थुप्रिएको ठूलो परिमाणको भग्नावशेष र लेदोबाट बनेको तालमा पानीको सतह निरन्तर बढिरहेको छ।
तालबाट पानी उद्धार टोली परिचालित क्षेत्रतर्फ बग्न थालेपछि उद्धारकर्मीलाई तत्काल सुरक्षित स्थानमा सारिएको हो।
‘सबै उद्धार टोलीलाई सुरक्षित स्थानमा स्ट्यान्डबाई अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न आदेश दिइएको छ,’ सीसीटीभीले जनाएको छ। यसअघि पनि प्रभावित क्षेत्रमा पुगेका आपत्कालीन उद्धार टोलीलाई सम्भावित जोखिमबाट जोगिन घटनास्थलबाट एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको थियो।
बुधबार तिब्बतको सीमावर्ती केरुङ क्षेत्रमा माटो, ढुंगा र भग्नावशेषसहितको ठूलो पहिरो खसेपछि नदीको बहाव अवरुद्ध भई ताल बनेको थियो। पहिरोपछि ठूलो संख्यामा मानिस बेपत्ता भएको खबर सार्वजनिक भएको छ।

.gif)


