काठमाडौं - नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा नियुक्ति लिनुका साथै पटक–पटक बढुवा भएको आरोपमा प्रमुख अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार कैद तथा जरिवानाको सजाय मागदाबी गर्दै प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

सुरक्षा निकायमा कार्यरत कर्मचारीले सेवा प्रवेश तथा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा केसीले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशअन्तर्गतको बोर्ड अफ हाई स्कुल एन्ड इन्टरमिडिएट एजुकेसनबाट जारी भएको भनिएको हाई स्कुल परीक्षाको नक्कली प्रमाणपत्र पेस गरेको पाइएको आयोगको दाबी छ।

सोही प्रमाणपत्रका आधारमा केसीले राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा नियुक्ति लिएको आयोगले जनाएको छ। आयोगका अनुसार उनले नियुक्तिका लागि पेस गरेको प्रमाणपत्रलाई नै पछि बढुवा तथा पदोन्नतिका क्रममा समेत पटक–पटक प्रयोग गरेका थिए।

केसी २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत र २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएका थिए। नक्कली प्रमाणपत्रकै आधारमा बढुवा हुँदै उनले पदीय हैसियतसँगै विभिन्न लाभ तथा सुविधा प्राप्त गरेको आयोगको आरोप छ।

आयोगले केसीको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको जनाएको छ।

सोही कसुरमा आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद तथा जरिवानाको सजाय मागदाबी गरेको छ ।