काठमाडौं - चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १५ करोड रुपैयाँ लागतको बहुचरणीय कार्यक्रम घोषणा गरेका छन्।
चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीका अनुसार कार्यक्रमअन्तर्गत बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्नेदेखि सुरक्षित आवास निर्माण, पुनर्स्थापना तथा दीर्घकालीन जनस्वास्थ्य पूर्वाधार विकाससम्मका काम गरिनेछ।
तत्कालीन राहतअन्तर्गत प्रभावित क्षेत्रमा खाद्यान्न, खानेपानी, तयार खाना, बिस्कुट, लत्ताकपडा, तिरपाल, व्यक्तिगत सरसफाइका सामग्री, आवश्यक खोप तथा स्वास्थ्य सामग्री पुर्याइनेछ। फाउन्डेसन र बैंकका अनुसार राहत सामग्री वितरण भदौ ११ गतेदेखि नै सुरु भइसकेको छ।
राहत तथा पुनर्स्थापनाको कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नुवाकोट र रसुवामा एक–एक गरी दुईवटा राहत शिविर स्थापना गरिने भएको छ।
स्थानीय प्रशासनसँगको समन्वयमा सञ्चालन हुने ती शिविरमार्फत प्रभावित परिवारलाई दैनिक भोजनसहित आवश्यक आधारभूत सुविधा उपलब्ध गराइने फाउन्डेसन र बैंकले जनाएको छ।
बहुचरणीय कार्यक्रममार्फत तत्काल राहतसँगै प्रभावित परिवारको पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणमा समेत सहयोग गर्ने योजना रहेको चौधरी फाउन्डेसन र नबिल बैंकले जनाएको छ।

.gif)



