काठमाडौं - नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन केन्द्रीय निर्देशन समितिसहित १५ वटा समिति गठन गरेको छ।
सभापति गगनकुमार थापाको संयोजकत्वमा गठन गरिएको केन्द्रीय निर्देशन समितिमा विश्वप्रकाश शर्मा, पुष्पा भुषाल, प्रदीप पौडेल, गुरुराज घिमिरे, उमेश श्रेष्ठ, महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोख्रेल र सपना राजभण्डारी सदस्य छन्। समितिको सदस्य सचिवमा प्रताप पौडेल छन्।
महाधिवेशनको आर्थिक व्यवस्थापन समितिको संयोजकमा उमेश श्रेष्ठ, सूचना–सञ्चार तथा प्रविधि समितिमा देवराज चालिसे, सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिमा उदयशमशेर राणा र अतिथि स्वागत समितिमा डा। डिला संग्रौला पन्तलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, समारोह स्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं जिल्ला सभापतिलाई दिइएको छ। प्रदेश तथा स्थानीय तहगत समन्वयमा बहादुरसिंह लामा, ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वयमा सुधीर शिवाकोटी र स्वयंसेवक व्यवस्थापनमा गणेश लामालाई संयोजक तोकिएको छ।
भोजन व्यवस्थापनमा तिलक रानाभाट, आवास व्यवस्थापनमा रमेशप्रसाद धमला, स्वास्थ्य समितिमा डा। केदारनरसिंह केसी, यातायात व्यवस्थापनमा विजयबहादुर स्वाँर तथा सांस्कृतिक–साहित्यिक संयोजनमा सीता गुरुङलाई जिम्मेवारी दिइएको कांग्रेसले जनाएको छ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा १५औँ महाधिवेशनलाई व्यवस्थित, मर्यादित र सफल बनाउन विभिन्न जिम्मेवारीसहित समितिहरू गठन गरिएको उल्लेख छ।



