काठमाडौं - स्पिन बलरको घातक बलिङसँगै नेपाल मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ।
सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो। नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान नेपाली स्पिनरसामु निरीह बन्दै २८.१ ओभरमा ६० रनमै अलआउट भयो।
ओमानको इनिङ्स ध्वस्त पार्ने क्रममा नेपाली स्पिनरहरूले उत्कृष्ट प्रदर्शन गरे। नेपालका बलरले नियमित अन्तरालमा विकेट लिँदा ओमानका कुनै पनि ब्याटरले ठूलो साझेदारी बनाउन सकेनन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रनको महत्वपूर्ण योगदान दिए। नेपाल ३६ रनमा चार विकेट गुमाएर संकटमा परेका बेला दीपेन्द्र र बसिरले पाँचौँ विकेटका लागि ९३ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ अघि बढाएका थिए।
देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए। अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालले २३ रनमा पहिलो विकेट गुमाएको थियो। त्यसपछि ३६ रनमै चार विकेट गुमाएको नेपाल दीपेन्द्र–बसिरको साझेदारीका कारण १२९ रनसम्म पुगे पनि त्यसपछि थप १८ रन जोड्दा बाँकी पाँच विकेट गुमाएर १४७ रनमा समेटिएको थियो।
ओमानका लागि जय ओडेडराले १० ओभरमा २६ रन खर्चेर तीन विकेट लिए। हस्नैन शाहले ८।४ ओभरमा २८ रन दिँदै तीन विकेट लिए। मुहम्मद इमरानले दुई तथा शकील अहमद र मुजिबुर अलीले एक–एक विकेट लिए।
सेमिफाइनलमा शानदार जितसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा समेत छनोट भएको छ।

.gif)


