बाँके - समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको कर्जा अपचलन गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तत्कालीन सीईओ नीरजविक्रम शाह, उनकी श्रीमती शुभेक्षा श्रेष्ठ तथा कर्णाली विकास बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरूलाई शुक्रबार नेपालगन्जबाट पक्राउ गरिएको हो ।
कर्णाली विकास बैंक केही महिनायता वित्तीय अनियमितता, जोखिमपूर्ण कर्जा प्रवाह, नक्कली धितोका आधारमा कर्जा वितरण तथा बैंकको आन्तरिक नियन्त्रण प्रणाली कमजोर बनाइएको आरोपका कारण विवादमा तानिएको थियो ।
बैंक समस्याग्रस्त घोषित गर्दै नेपाल राष्ट्र बैंकले नै व्यवस्थापन हेरेको थियो। सोही व्यवस्थापन समूहका जुगल किशोर कुशहवाको जाहेरीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेको थियो।
सीआईबीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा मुद्दा दायर गरेको हो।
कर्णाली विकास बैंकमा ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको निष्कर्ष छ । यस प्रकरणमा १०९ जनालाई प्रतिवादी बनाइएको छ।
संलग्न रहेका अन्य केही प्रतिवादी फरार रहेका छन् भने केही व्यक्तिहरू यसअघि नै प्रहरी हिरासतमा रहेका छन् ।
हाल पक्राउ परेका तीनै जनामाथि बैंकिङ कसुर तथा आर्थिक अनियमितता सम्बन्धी मुद्दामा थप कारबाहीका लागि शुक्रबार नै उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासमा उपस्थित गराइएको छ।

.gif)


