काठमाडौं - आम आदमी पार्टी नेतृत्वको दिल्ली सरकारले वामपन्थी नेता कन्हैया कुमारमाथि देशद्रोहको आरोपमा मुद्दा चलाउन दिल्ली प्रहरीलाई अनुमति दिएको छ ।

जहावरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्वअध्यक्षसमेत रहेका कन्हैयामाथि ‘राष्ट्रविरोधी नारा’लगाएको आरोपमा दिल्ली प्रहरीले देशद्रोहको आरोपमा अदालतमा मुद्दा दायर गरेको थियो।

प्रहरीले कन्हैया कुमार, उमर खालिद, अनिर्बानका अलावा सात जनालाई अभियुक्त बनाउदै दिल्ली प्रहरीले मुद्दा दायर गरेको थियो।

तर मुद्दा अगाडि बढाउनका लागि दिल्ली सरकारको अनुमति प्राप्त भएको थिएन। दिल्ली सरकारले यसलाई टाल्दै आए पनि पछिल्लो पटक अनुमति दिएको हो।

देशद्रोहको मुद्दा चलाउनका लागि सम्बन्धित राज्य सरकारको अनुमति चाहिने भारतीय संविधानमा प्रावधान रहेको छ।

केन्द्रीय गृहमन्त्री अमित शाह र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालबीच भेट भएको केही दिनपछि नै कन्हैया कुमार, उमर खालिद र आनिर्बान भट्टाचार्यसहितका विद्यार्थी नेतालाई विरुद्ध देशद्रोहको आरोपमा मुद्दा चलाउन अनुमति दिएको हो।