काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको विवाद अदालतमा नभई पार्टी कार्यालयमै बसेर संवाद र सहमतिमार्फत समाधान गर्नुपर्ने बताएका छन्।

शनिबार कांग्रेसले आयोजना गरेको ‘ग्रीन रन’ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले पार्टीका सबै पक्षलाई संवादमा बसेर पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका हुन्।

उनले कानुनले मुद्दामामिलाको बाटो खुला गरे पनि अदालतबाट मात्रै पार्टीभित्रको विवाद समाधान हुन नसक्ने बताए।

'अदालतको ढोकाबाट होइन, पार्टी कार्यालयको कोठाबाट हामी सँगसँगै बसेर संवाद गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ,' शर्माले भने।

शर्माले आगामी असोजमा पार्टीको महाधिवेशन हुने भएकाले सभापति, उपसभापति र महामन्त्रीलगायत पदमा प्रतिस्पर्धा गर्न सबैका लागि बाटो खुला रहेको बताए।

विशेष महाधिवेशनबाट आएको नेतृत्व पाँच वर्षका लागि नभएको स्पष्ट पार्दै उनले आगामी महाधिवेशनमा सबैले नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सक्ने बताए।

कांग्रेसभित्र विशेष महाधिवेशनको वैधानिक प्रक्रिया तथा आगामी असोजमा हुने भनिएको महाधिवेशनलाई लिएर विवाद जारी छ। संस्थापनइतर समूहले महाधिवेशन रोक्न कानुनी प्रक्रिया अघि बढाएको अवस्थामा शर्माको यस्तो धारणा आएको हो।