काठमाडौं - मध्य अमेरिकी मुलुक हैटीको एक अनाथालयमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

अमेरिकाको धार्मिक गैरनाफामूलक संस्थाद्धारा हैटीको राजधानी पोर्ट औ पिन्समा सञ्चालित उक्त अनाथालयमा शुक्रबार आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको ज्यान गएको द न्युयोर्क टाइम्सले जनाएको छ । ६० जना बालबालिका भागेर बाँच्न सफल भएका छन् ।

अनाथालयको चर्चबाट सुरु भएको आगोमा जलेर ती बालबालिकाको मृत्यु भएको हैटीस्थित युनिसेफको बालबालिका सुरक्षा प्रमुख जेनिफर मेल्टनले जनाएकी छन् ।

अग्नि नियन्त्रण संस्थाका अधिकारीहरूले बलिरहेको क्यान्डलबाट आगलागी भएको हुनसक्ने अनुमान गरेका छन् । तर, ठोस कारण अहिलेसम्म पत्ता लागिसकेको छैन ।

हैटीका राष्ट्रपति जोभेनल मोसीले एक ट्विट गर्दै घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन् । साथै उनले घटनाबारे सत्यतथ्य पत्ता लगाउन अधिकारीहरूलाई निर्देशन दिएका छन् । पछिल्लो समय गृहमा १५० बालबालिका आश्रित थिए ।