तनहुँ - तनहुँको ऋषिङ गाउँपालिका–६ का ४८ वर्षीय लालबहादुर थापाको कोरोना भाइरसको नतिजा नेगेटिभ आएको छ । ज्वरो आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।

सोमबार स्वाब संकलन गरिएकोमा बुधबार प्राप्त भएको रिपोर्ट अनुसार थापामा कोरोना संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

दुई हप्ता अगाडि भारतबाट फर्किएका थापालाई ज्वरो आएको थाहा पाएपछि गाउँपालिकाले आइतबार परीक्षणका लागि पोखरा पठाएको थियो ।

उक्त दिन प्रतिष्ठानले उनलाई भर्ना नलिएपछि उनले प्रतिष्ठान प्राङ्गणमा रात बिताएका थिए । उनका बारेमा बारेमा विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भएपछि सोमबार प्रतिष्ठानले स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो ।