जनकपुरधाम - रसुवामा आएको बाढीको असर कोशी नदीमा समेत देखिन थालेको छ।

सुनसरी र सप्तरीको आसपास क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

भोटेकोशी तथा त्रिशूली नदी आसपासमा आएको बाढीपछि कोशी नदीको जल सतहसमेत बढ्दै गएको छ।

कोशी ब्यारेजको पछिल्लो विवरणअनुसार पानीको बहाव १ लाख ३१ हजार ३४० क्युसेक पुगेको छ। पानीको बहाव बढ्दो क्रममा रहेको र ब्यारेजका १५ वटा ढोका खोलिएको जनाइएको छ।

कोशी ब्यारेजको विवरणमा नदीको अवस्था खतरा तहमा पुगेको छ।

यसैबीच, भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि भोटेकोशी तथा त्रिशूली नदी आसपासका तटीय क्षेत्रका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

खोज तथा उद्धारका लागि तयारी अवस्थामा रहनसमेत सम्बन्धित निकायलाई भनिएको छ।

कोशी नदीको बहाव अझै बढ्न सक्ने भएकाले कोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र जोखिम बढे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।