काठमाडौं - टीकापुर घटनामा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई आममाफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गरेको हो। सर्वोच्चको दैनिक पेशी सूचीमा समेत आममाफीसम्बन्धी रिट खारेज भएको उल्लेख छ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहटरथारुवान आन्दोलन हिंसात्मक बन्दा आठ प्रहरी र एक नाबालकको मृत्यु भएको थियो। घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सुरक्षाकर्मी र एक बालकले ज्यान गुमाएका थिए।

टीकापुर घटनामा दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। उच्च अदालत दिपायलले पनि जिल्ला अदालतकै फैसला सदर गरेको थियो।

सर्वोच्च अदालतले २०८० जेठ २ गते चौधरीलाई सफाइ दिन अस्वीकार गर्दै जिल्ला र उच्च अदालतको फैसला सदर गरेको थियो। त्यसको केही दिनपछि राष्ट्रपतिले चौधरीलाई आममाफी दिएपछि उनी २०८० जेठ १५ गते कारागारबाट रिहा भएका थिए।

आममाफीविरुद्ध टीकापुर घटनामा श्रीमान् गुमाएकी शारदा कडायतले जेठ १६ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। उनले जन्मकैदको सजाय पाएका चौधरीलाई रिहा गर्ने निर्णय संविधानसम्मत नभएको जिकिर गरेकी थिइन्।

उक्त रिटमाथि मंगलबार सुनुवाइ गर्दै सर्वोच्चले आममाफीसम्बन्धी सरकारी निर्णयविरुद्धको रिट खारेज गर्ने फैसला गरेको हो।