काठमाडौं - कञ्चनपुरमा मन्त्रीमाथि कालो झण्डा देखाउनेलाई सुरक्षा संयन्त्रभित्रबाटै निर्घात कुटपिट गरिएको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छानविन गर्न माग गरेको छ ।

कांग्रेसले सरकारी सुरक्षा संयन्त्रको घेराभित्र शान्तिपूर्ण विरोध गर्नेलाई निर्घात कुटिएको र घाईते पारिएको भन्दै घटनाको छानविन गर्न माग गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडले आज संसदमा बोल्दै घटनाबारे छानविन गरि दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । खाँडले शान्तिपूर्ण विरोधमाथि भएको दमनप्रति चर्को विरोध जनाए ।

गत मंगलबार खानेपानी मन्त्री विना मगरलाई कालोझण्डा देखाउने क्रममा कांग्रेस कार्यकर्तामाथि सत्तारुढ नेकपाका कार्यकर्ताहरुले निर्घात कुटपिट गरेका थिए । घटनामा परि कांग्रेसका क्षेत्रीय सभापति, नगर सचिव, नगरप्रमुख उम्मेदवारलगायत गम्भिर घाईते भएका थिए । घटनाका घाईतेहरुको अहिले पनि उपचार भईरहेको छ ।