काठमाडौ - प्रदेश–२ सरकारले विश्व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अभियानका लागि २५ करोडको कोष स्थापना गरेको छ ।

कोषमा मुख्यमन्त्री र मन्त्रीहरुको एक महिनाको परिश्रमिका जम्मा गरिने भएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले कोरोनाको संक्रमण रोक्न तथा संक्रमण भइहालेमा उपचार तथा क्वारेन्टाइनका लागि खर्च गर्ने गरी कोष खडा गरेको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री एव प्रदेश सरकारका प्रवक्ता ज्ञानेन्द्रकुमार यादवले इच्छुक सामाजिक संघसंस्था, व्यापारिक घराना र सर्वसाधारणलाई समेत कोषमा रकम जम्मा गर्न अपिल गरिएको जानकारी दिए ।

यादवका अनुसार कोरोना महामारीविरुद्ध जुध्न मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको संयोजकत्वमा सबै मन्त्री सदस्य रहेको उच्चस्तरीय निर्देशन समिति पनि गठन गरेको छ ।

यस्तै प्रदेश सरकारका निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी विशेष कार्यकारी समितिसमेत गठन गरिएको छ ।

प्रदेश मन्त्रिपरिषदले प्रादेशिक अस्पताल जनकपुर, वीरगञ्ज र राजविराजमा कोरोना संक्रमण जाँच गर्नका लागि ल्याबसमेत स्थापना गर्ने निर्णय गरेको छ ।