काठमाडौं - नोबेल कोरोना भाइरस अर्थात् (कोभिड-१९) को उद्गमस्थल चीनमा पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । तर १२ जना नयाँ बिरामी भने थपिएका छन् ।

चीनमा सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या घटे पनि विश्वका अरु देशमा सङ्क्रमितसँगै ज्यान गुुमाउनेको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण गएको २४ घण्टामा विभिन्न देशमा थप ५२ जनाको ज्यान गएको छ भने दुई हजार एक सय ५९ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

५१ हजार चार सय ४९ जना उपचारपछि घर फर्किएका छन् । ९५ हजार एक सय ८० जनामा सङ्क्रमण देखिइसकेको छ । अहिलेसम्म तीन हजार दुई सय ५४ जनाको ज्यान गइसकेको छ । कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म ८४ देशमा फैलिएको छ ।