बारा - बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या घटनामा प्रहरीबाट भएका कमजोरीबारे छानबिन गर्न समिति गठन गरिएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु ढकालको अध्यक्षतामा छानबिन समिति गठन गरिएको हो ।

घटनाको अनुसन्धानलाई थप प्रभावकारी बनाउन काठमाडौं उपत्यकाबाट समेत अनुसन्धानमा अनुभवी प्रहरी अधिकारीलाई समितिमा खटाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजु अधिकारीलाई समेत छानबिनका लागि खटाइएको हो ।

समितिले घटनाको अनुसन्धानका क्रममा प्रहरीबाट भए–गरेका गतिविधि, अनुसन्धानको प्रक्रिया तथा सम्भावित कमजोरीबारे अध्ययन गर्नेछ। बालिकाको हत्या घटनामा प्रहरीको भूमिकामाथि सुरुदेखि नै प्रश्न उठ्दै आएको थियो।

बालिका बेपत्ता भएपछि खोजी तथा अनुसन्धानमा पर्याप्त चासो नदिएको आरोपदेखि घटनाका आरोपीको भिडियो सार्वजनिक गरिएको विषयसम्म प्रहरी विवादमा परेको थियो ।