विप्लवका कार्यकर्ता हतियारसहित पक्राउ
स्याङ्जा - गल्याङ नगरपालिका ३ बाट हतियार, विष्फोटक पदार्थ र विभिन्न दस्तावेजसहित प्रहरीले विप्लव समूहका २ नेता पक्राउ गरेको छ।
भीरकोट नगरपालिका ९ का ४६ वर्षीय शिव दर्लामी, वालिङ नगरपालिका ९ का मोहन सिञ्जालीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।
गल्याङमा पक्राउ परेका दर्लामीको साथबाट लेटरप्याट, सहयोग रसिद लगायत कागजात नियन्त्रणमा लिएको प्रहरीको दाबी छ। उनी पक्राउ परेपछि प्रहरीले वालिङ ९ को दर्लामीको घरमा खानतलास गर्दा एअरगन १ थान, बम जस्तो देखिने आइइडी ५ थान, चन्दा उठाउने रसिड १ प्याड, सदस्यता रसिद ३ ठेली फेला पारेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानाकारी दिए।
दर्लामीलाई सोधपुछपछि विभिन्न व्यक्तिलाई धम्की दिई चन्दा उठाउने कार्यमा संलग्न रहेको देखिएकाले सिञ्जालीलाई पक्राउ गरिएको लम्सालले बताए।
राज्य विरुद्धको कसुरमा स्याङ्जामा रहेका विप्लवका ३ कार्यकर्तालाई प्रहरीले पुनः पक्राउ गरेको छ। जिल्ला अदालतबाट साधारण तारेखमा छोडिएका रोल्पाका जंगबहादुर भण्डारी, भोजपुरका मीलन राई र गोर्खाका काजी गुरुङलाई पुन पक्राउ गरेको हो। पुन पक्राउ परेका भण्डारी कास्की सेक्रेटरी, राई र गुरुङ जिल्लास्तरीय नेता हुन्। प्रहरीले साधारण तारेखमा छुटेकालाई पुनः पक्राउपछि गोरखामा रहेको मुद्दामा पठाएको हो।
फेसबुक पेज Like गर्नुहोस