अमेरिका भारतको बफादार मित्र होः डोनाल्ड ट्रम्प
एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दुई दिवसीय भ्रमणका क्रममा भारत आइपुगेका छन् ।
सोमबार बिहान राष्ट्रपति ट्रम्प गुजरातको अहमदाबाद विमानस्थलमा ओर्लिएका हुन् । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमा स्वागत गरेका थिए ।
राष्ट्रपति ट्रम्पले गुजरातस्थित विश्वकै ठूलो नवनिर्मित क्रिकेट मैदानमा सहभागी एक लाखभन्दा मानिसलाई सम्बोधन गरेका छन् । उनले आफ्नो सम्बोधनमा अमेरिकाले भारतलाई सँधै माया गर्ने बताएका थिए । त्यस्तै उनले अमेरिका भारतको बफादार मित्र भएको पनि बताए ।‘नमस्ते, अमेरिकाले भारतलाई माया गर्छ’, सम्बोधनका क्रममा ट्रम्पले भने, ‘अमेरिका सधैँ भारतको बफादार मित्र हुनेछ ।’
त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले पनि क्रिकेट मैदानमा सहभागीलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा मोदीले अमेरिका र भारतबीचको सम्बन्धको प्रशंसा गरेका छन् ।‘नमस्ते, ट्रम्प । अमेरिका-भारत सम्बन्ध एउटा वृहत र समावेशी साझेदारी पनि हो’, मोदीले भने ।
आफ्नो परिवारसाथ भारत आएका ट्रम्प अहमदाबादपछि दिल्ली र आगरा जानेछन् । उनीसँगै पत्नी मेलानिया ट्रम्प, छोरी इभान्का र ज्वाइँ जरेड कुशनर पनि भारत आएका छन् ।
आतंकवादविरुद्धको लडाइँमा सहकार्य गर्दै आएका भारत र अमेरिकाबीच ट्रम्पको भ्रमणका क्रममा महत्वपूर्ण सम्झौता हुन सक्ने बताइएको छ । अमेरिकाको होमल्याण्ड सेक्युरिटी र भारतको इन्टेलिजेन्स ब्यूरोबीच आतंकवादसम्बन्धी सम्झौता हुने बताइएको छ ।
त्यस्तै दुबै मुलुकबीच रक्षा सम्झौता हुन सक्ने अपेक्षा गरिएको छ । साथै भारत र अमेरिकाबीच इन्डो प्यासिफिक क्षेत्रमा सहयोग बढाउने गरी एक महत्वपूर्ण सम्झौता हुन सक्ने विश्लेषण गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस