काठमाडौं - अमेरिकामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणको इपिसेन्टर बनेको अमेरिकी राज्य न्यूयोर्कमा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मुस्ताङ घर भई न्यूयोर्कको क्वीन्समा बस्ने सोनाम लामा र ज्याक्सन हाइट बस्ने थोंग्वेन विष्ट रहेको स्थानीय मिङमार लामालाई उद्धृत गर्दै अमेरिकाबाट पत्रकार होम लम्सालले जानकारी दिएका छन् ।

यस्तै न्युयोर्कमै अर्का नेपाली अजय छोचुनको पनि मृत्यु भएको छ । छोचुनको मृत्युको कारणको रिपोर्ट आउन बाँकी रहेको छ ।

अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीले घटनाको पुष्टि गरे पनि पूर्ण विवरण आफूलाई आउन बाँकी रहेको बताएको पत्रकार लम्सालले जानकारी दिएका छन् ।

यसअघि पनि न्यूयोर्कमै अर्का एक जना नेपालीको कोरोना संक्रमणबाट निधन भएको थियो ।