काठमाडौं - सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक पदमा महेश्वरभक्त श्रेष्ठलाई सरकारले गरेको नियुक्ति बदर गरिदिएको छ ।
न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासले बिहीबार श्रेष्ठको नियुक्ति कानुनसम्मत नरहेको ठहर गर्दै बदर गर्ने आदेश दिएको हो । श्रेष्ठविरुद्ध उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमाथि अन्तिम सुनुवाइ गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो ।
सरकारले श्रेष्ठलाई निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा नियुक्त गर्दा पर्यटन मन्त्रालयसम्बद्ध ‘सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३’ विपरीत भएको सर्वोच्चको ठहर छ।
उक्त मापदण्डअनुसार सार्वजनिक निकायको कार्यकारी प्रमुख पदमा नियुक्त हुने व्यक्ति ३० वर्ष उमेर पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ। तर, श्रेष्ठ ६५ वर्ष उमेर पार गरिसकेको अवस्थामा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए।

.gif)



