चितवन - चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान विभिन्न स्थानमा खसेको लेदोसहितको पहिरो हटाइएपछि सवारी आवागमन पुनः दुवैतर्फ सञ्चालनमा आएको छ।

बिहान तुइनखोला, नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलो क्षेत्रमा पहिरो खसेपछि सडकको आवागमन प्रभावित भएको थियो।

डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनखोला, नाम्सी खोला र सिमलतालमा सडक एकतर्फी अवरुद्ध बनेको थियो भने १५ र १७ किलो क्षेत्रमा सडक छेउमा लेदो थुप्रिएको थियो।

पहिरो हटाउने काम सकिएसँगै बिहान १० बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको घिमिरेले बताए।

तुइनखोलामा खसेको पहिरो भने त्यहाँ निर्माणको जिम्मा लिएको कम्पनीले आफैं हटाएको हो। अन्य स्थानमा खसेको पहिरो मुग्लिन र सेतीदोभानमा रहेका उपकरण प्रयोग गरेर हटाइएको जनाइएको छ।