काठमाडौं -  बहराइनमा कोरोना भाइरसबाट आइतबार थप ६ जना संक्रमित भएका छन् । योसँगै भाइरसबाट संक्रमित हुनेको संख्या ४७ पुगेको छ ।बहराइनको स्वास्थ्य मन्त्रालयले आइतबार कोरोना भाइरसबाट थप ६ जना संक्रमित भएको जानकारी गराएको छ । हालसम्म भाइरसबाट ४७ जना संक्रमित भएको मन्त्रालयको भनाइ छ ।

नयाँ संक्रमितमध्ये ५ जना बहराइनका र एकजना साउदीका नागरिक हुन् । उनीहरू इरानबाट बहराइन आएको स्वास्थ्य मन्त्रालयले ट्विटरमार्फत् जानकारी गराएको छ । संक्रमितको संख्या बढ्दै गएपछि बहराइन सरकारले कोरोना भाइरस नियन्त्रण गर्न विभिन्न उपाय अपनाएको छ ।

हाल बहराइनका सबै निजी र सरकारी विद्यालय तथा विश्वविद्यालय बन्द गरिएको छ । फेब्रुअरी २५ देखि २ हप्ताका लागि त्यहाँका विद्यालय बन्द गरिएको हो ।  त्यस्तै इरानबाट मानिसहरूलाई आउन रोक लगाइएको छ ।

इरानबाट फर्केका सबै नागरिक तथा मानिसको परीक्षण पनि भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वभर फैलिएको छ । चीनपछि मध्यपूर्व र युरोपमा भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढिरहेको छ । हालसम्म भाइरसबाट ३ हजारभन्दा बढीको मृत्यु भएको र झण्डै ९० हजार संक्रमित भएका छन् । इरानमा मात्रै कोरोना भाइरसबाट ५४ जनाले ज्यान गुमाइसकेका छन् भने ९७८ जना संक्रमित भएका छन् ।