काठमाडौं - विशेष अदालतले नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दाहाललाई १५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दाहालसँग १५ लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत माग गरेको हो।
धरौटी वा बैंक जमानत बुझाउन नसके उनलाई थुनुवा पुर्जी दिई सम्बन्धित कारागार पठाउन अदालतले आदेश दिएको छ।
दाहालमाथि बीमा प्राधिकरणको अध्यक्ष रहँदा एउटै प्रकृतिको लगानी एउटै कम्पनीमा केन्द्रित हुने गरी पटक–पटक स्वीकृति दिएको आरोप छ। नियामकीय जिम्मेवारीअनुसार जोखिम नियन्त्रण गर्नुको सट्टा सीमित स्वार्थ समूहलाई लाभ हुने गरी निर्णय गरेको अभियोगसमेत उनीमाथि लगाइएको छ।
अभियोगपत्रमा नेपाल पुनर्बीमा कम्पनीको सेयर खरिद–बिक्री तथा मूल्यमा प्रभाव पार्ने गरी काम गर्दा करिब ४ अर्ब २७ करोड ४४ लाख ७१ हजार रुपैयाँ बराबरको रकम दुरुपयोग भएको दाबी गरिएको छ।
दाहालले भने आफूले कुनै कम्पनी वा सेयर कारोबारीलाई प्रभाव पार्ने गरी निर्णय नगरेको र आरोपअनुसारको कसुर नगरेकाले सफाइ पाउनुपर्ने जिकिर गरेका छन्।
तत्काल प्राप्त प्रमाणका आधारमा दाहाललाई अहिले नै निर्दोष मान्न नसकिने भन्दै अदालतले धरौटी माग गरेको हो। उनीमाथिको अभियोगको अन्तिम टुंगो भने मुद्दाको पूर्ण सुनुवाइपछि लाग्नेछ।

.gif)



