नुवाकोट - नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार शनिबार बिहान करिब पौने ९ बजे टोखा–छहरे सडकखण्डमा दुर्घटना भएको हो। काठमाडौं हुँदै दुप्चेश्वरतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ००५२ नम्बरको बस चालक र यात्रुहरू खाजा खान गएका बेला आफैं गुडेको थियो।
बस सडकछेउमा रोकिराखेको बा.प्र.०३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएपछि दुवै सवारीसाधन सडकबाट करिब ३०–४० मिटर तल खसेका थिए।
दुर्घटनामा काभ्रेपलाञ्चोकको बनेपा–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा काठमाडौंको काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल, बनेपा–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ–६ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ रहेका छन्।
उनीहरूको काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाका बेला बस रोकिएको र यात्रुहरू खाजा खान गएकाले बसमा कति जना यात्रु थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बस चालक काभ्रेको पाँचखाल–७ का ४५ वर्षीय सिताराम आचार्यलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

.gif)

