काठमाडौं - निजी भ्रमणका क्रममा शुक्रबार सडकमार्ग हुँदै पोखरा पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज काठमाडौं फर्किँदैछन् ।

पोखरा हुँदै मुस्ताङ पुगेका प्रधानमन्त्री शाह आइतबार मुस्ताङबाट फर्किएर पोखरामै बसेका थिए ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार प्रधानमन्त्री शाहको आज काठमाडौं फर्कने कार्यक्रम छ। पोखरा र मुस्ताङ जाँदा सडकमार्ग नै प्रयोग गरेका कारण उनी काठमाडौं पनि गाडीमै फर्किने सम्भावना छ।

तर, प्रधानमन्त्री शाहको काठमाडौं फर्किने मार्गमा पर्ने पृथ्वी राजमार्गको तनहुँ खण्डमा पहिरोको जोखिम उच्च रहेकाले स्थानीय प्रशासन सतर्क बनेको छ।

गएराति करिब १० बजे तनहुँको व्यास नगरपालिका–१२ छिरकनेमा पहिरो खस्दा पृथ्वी राजमार्ग केही समय अवरुद्ध भएको थियो। प्रहरी र सडककर्मीले राति नै पहिरो तथा ढुंगा हटाएर सडक सञ्चालनमा ल्याए पनि उक्त क्षेत्रमा पहिरोको जोखिम भने कायमै रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार पहिरो खसेको स्थानभन्दा केही माथि ठूलो ढिस्को रहेकाले जुनसुकै बेला खस्न सक्ने अवस्था छ।

हाल उक्त सडकखण्डमा सवारीसाधन भने सञ्चालनमा छन्। पहिरो खसेको स्थानमा प्रहरीले ड्युटी खटाएर आलोपालो गरी सवारीसाधनलाई गन्तव्यतर्फ पठाइरहेको छ।

प्रहरीका अनुसार वर्षा भए पहिरोको जोखिम थप बढ्न सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।