काठमाडौं - क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक व्यक्तिबाट ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा काभ्रेपलाञ्चोकका ४२ वर्षीय अच्युत दुलाल पक्राउ परेका छन् ।

वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि जिल्ला काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका–६ घर भएका दुलाललाई २०८३ साउन २४ गते गोकर्णेश्वर नगरपालिका क्षेत्रबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार दुलालले क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने आश्वासन दिई पीडितबाट ३७ लाख रुपैयाँ लिएको सम्बन्धमा वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा विभागबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुलाललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।