काठमाडौं - अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण हालसम्म १ सय ८ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्‌मा परी आज दिउँसोसम्म १ सय ८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौं उपत्यकामा २, कोशी प्रदेशमा १९, मधेशमा ५, बागमतीमा ९, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना रहेका छन् ।

यस्तै उक्त घटनामा परेर १ सय १९ जना घाइते भएका छन् । घाइते हुनेमा काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन् ।

घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परेका ५३ जनाको उद्धार गरिएको र छ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेको बताइएको छ । यस्तै, दुई सय तीन वटा घर, ७५ वटा गोठ, ४१ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

पाँच सय १६ वटा पशु चौपाय मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार पाँच सय ५२ घर परिवार विस्थापित भएका छन् ।