मदन भण्डारीको नियोजित हत्या नै भएको हो : प्रचण्ड
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारी र जीवराज आश्रितको नियोजित हत्या नै भएको हो, तर हत्या कसले गर्यो भन्ने पत्ता लगाउन नसकेको बताए ।
‘मदन भण्डारीको नियोजित हत्या हो । दुर्घटना होइन भन्ने जनतालाई लागेको छ,’ मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा गरेको विचार गोष्ठीमा दाहालले भने, ‘हामी सरकारमा छौं, तर हत्यारा फलानो हो भनेर किटेर भन्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनौं। चालकलाई जोगाउन सकिएको भए पनि केही प्रमाण त खुल्थ्यो कि?’
‘जनतालाई लाग्छ त्यो स्वभाविक मृत्यु होइन। त्यो भयानक डिजाइनअनुसार हत्या गरेको नै हो,’ उनले भने, ‘हत्यारा विदेशी शक्ति हो कि जस्तो लाग्छ । स्वदेशी तत्व हो कि जस्तो लाग्छ तर प्रमाण छैन।’
भण्डारीको हत्यारा पत्ता लगाएर जनताको बीचमा ल्याउन सक्ने हो भने त्यस्ता घटनाबाट बच्न सकिने उनले बताए।
फेसबुक पेज Like गर्नुहोस