रूपन्देही - बाढीको जोखिमका कारण नारायणी नदीपारी रहेको नवलपरासीको सुस्ता गाउँ खाली गरिएको छ ।

तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीको असर नवलपरासीसम्म पर्न सक्ने भन्दै सुस्ता गाउँ खाली गराउन थालिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

अहिले स्थानीयलाई नदीवारी रामनगरस्थित शिव गंगाकुञ्ज प्राविमा सारिएको नेपालले बताए ।

सुस्तामा २२० घरधुरीका १४ सय ५७ घरपरिवार छन् । उनीहरूलाई घरका सामान अग्लो ठाउँमा राख्न लगाएर स्कुलमा सारिएको हो । त्यहाँ सशस्त्र र नेपाल प्रहरीका युनिट कार्यालय छन् । स्थानीयहरूलाई नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षित स्थानमा सारिरहेका छन् ।

स्थानीयलाई सारिसकेपछि सुरक्षाकर्मीलाई पनि सुरक्षित ठाउँमा सारिने सीडीओ नेपालले जानकारी दिए ।

सुस्तासँगै नारायणी नदी छेउमा रहेका प्रतापपुर, सुस्ता गाउँपालिकाका बस्तीमा बाढी पस्न सक्ने भन्दै प्रशासनले सचेत रहन आग्रह गरेको छ ।