गौरा पर्व आजबाट सुरु
कञ्चनपुर - सुदूरपश्चिमको महान चाड गौरा पर्व आजबाट सुरु भएको छ । भाद्र कृष्णपक्षको पञ्चमीका दिन सुरु हुने सुदुरपश्चिमेलीहरुको मुख्य चाड गौरा पर्वमा आज घर घरमा पन्च अन्न विरुडा भिजाएर गौराको थालनी गरिएको हो ।
गौरा पर्वमा विवाहित महिलाहरुले आजको दिन निराहार व्रत बसेर सगुन गाउँदै तामाको भाडामा गहुँ, केराउ, गहत, मास र गुरौज लगायतका पञ्च अन्न अर्थात विरुडा भिजाएर गौरा पर्व सुरु गर्ने गर्दछन् ।
आज भिजाएको बिरुडालाई षष्ठीका दिन पखाल्ने गरिन्छ भने सप्तमीका दिन महिलाले दिनभरि बर्त बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलन छ ।यस पर्वमा शिव–पार्वतीको पुजा गर्ने गरिन्छ भने देउडा, ठाडी भाका लगायतका गित गाएर रमाइलो गर्ने गरिन्छ ।
गौरा पर्व सुदुरपश्चिमको बाजुरा, डोटी, अछाम, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, कैलालीलगायतका जिल्लामा हर्सोल्लासका साथ मनाउने परम्परा रहेको छ ।
गौरा पर्ब भाद्र शुक्ल पञ्चमीदेखी अष्टमीसम्म मनाइन्छ । व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ ।
फेसबुक पेज Like गर्नुहोस