युक्रेनमा चीनबाट उद्धार गरिएकाहरु चढेको बसमा आक्रमण
काठमाडौं - नेपालमा चीनबाट ल्याएर क्वारेण्टाइनमा राखिएका विद्यार्थीका कारण कोरोना भाइरस फैलने चिन्ता गरिए पनि त्यसको खासै विरोध भएन । अहिले भक्तपुरको खरिपाटीमा चीनबाट ल्याइएका १७५ जना निर्वाध वसिरहेका छन् । र, उनीहरुमा कोरोना संक्रमणको कुनै संकेत नमिलेको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरिसकेको छ ।
उता, युक्रेनमा भने चीनबाट फिर्ता ल्याइएका मानिसहरु चढेको बसमा आक्रमण भएको छ । बिहीवार कोरोनाभाइरसबाट पीडित चिनियाँ शहर वुहानबाट ४५ युक्रेनी र अन्य २७ जना छिमेकी देशका मानिसलाई उद्धार गरि क्वारेन्टाइनका लागि पूर्वी युक्रेनको नोबी सान्जारीस्थित अस्पताल लैजाँदै गर्दा स्थानीय प्रदर्शनकारीले आफ्नो क्षेत्रमा भाइरस फैलन सक्ने भन्दै आक्रमण गरेका हुन् ।
६ वटा बसमा राखेर उनीहरूलाई अस्पताल लगिदैं गर्दा स्थानीय प्रदर्शनकारीले ती बसहरूमा ढुङ्गा र आगोका गोलाहरु प्रहार गरे । आक्रमणबाट कसैको ज्यान गएको पुष्टि नभए पनि थुप्रै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
बेलायती संचारसंस्था बीबीसीका अनुसार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै स्थानिय नागरिकलाई संयमता अपनाउन र आफूहरू सबै मानव भएको सम्झन अपिल गरेका छन् ।
युक्रेनको स्वास्थ्य मन्त्रालयले वुहानबाट उद्धार गरेर ल्याइएका कोहीमा पनि कोरोनाभाइरसको संक्रमण नरहेको स्पष्ट पार्दै थप सतर्कताको लागि चीनबाट आउने सबैलाई १४ दिनको क्वारेण्टाइन निगरानीमा राखिने बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस