एजेन्सी - विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकैदिन १ सय ८९ जनाको मृत्यु भएको छ । इटालीमा बिहीवार मात्रै यति ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो ।

इटाली चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो। अहिलेसम्म १५ हजार १ सय १३ जनामा कोरोनाको संक्रमण भेटिएको छ भने एक हजार १६ जनाको मृत्यु भएको छ ।

इटालीमा बिहीवार मात्रै २ हजार ६ सय ५१ जना नयाँ संक्रमित भेटिएका छन् । उता, इरानमा पनि कोरोना संक्रमणका कारण बिहीवार ७५ जनाको र स्पेनमा ३१ जनाको मृत्यु भएको छ ।

कोरानाका कारण चीनमा अहिलेसम्म तीन हजार एक सय ७० जनाको मृत्यु भएको छ । तर, चीनमा नयाँ संक्रमित हुनेहरुको संख्या ह्वात्तै घटेको छ । बिहीवार चीनमा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ भने चारजनामा नयाँ संक्रमण फेला परेको छ ।

हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट ४ हजार ९ सय ७२ जनाले ज्यान गुमाएका छन् । जसमध्ये बिहीवार मात्रै ३ सय ४४ जनाको मृत्यु भएको छ ।

हालसम्म १ लाख ३४ हजार ५ सय ६० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ती मध्ये ८ हजार तीन सय ४६ नयाँ संक्रमित हुन् । झण्डै ६९ हजार व्यक्ति निको भएर घर फर्केका छन् ।