काठमाडौं - नेकपाका उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफू सांसद बन्ने कुरा कुनै पद र प्रतिष्ठासँग गाँसिएको विषय नरहेको स्पष्ट पारेका छन् ।

बुधबार सर्चोच्च अदालतको संवैधानिक इजालसले उनको सांसद बन्ने बाटो रोक्ने गरी गरिएको अन्तरिम आदेश खारेज गरेसँगै गौतमले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले यसबीचमा आफूप्रति शुभेच्छा र सद्भाव राख्नेप्रति आभार प्रकट गरेका छन् । ‘राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलास ले खारेज गरेको छ,’ उनले बुधबार सार्वजनिक गरेको प्रेस नोटमा भनिएको छ ।

‘वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन । हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए,’ उनले भनेका छन्, ‘फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु ।’