काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक खोलिएसँगै राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बिहीबार असोज १ गते बिहान ६ बजेदेखि कृष्णभीर खण्डमा सवारीसाधन दुवैतर्फ सञ्चालन हुन थालेका हुन् ।

भदौ १० र १४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक भासिएपछि पृथ्वी राजमार्गको उक्त खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।

सडक डिभिजन कार्यालयले भासिएको सडकको विकल्पमा नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा ल्याएको हो। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमद्वारा जारी सूचनामा नयाँ ट्र्याकमार्फत राजमार्ग सञ्चालनमा आएको जनाइएको छ।

राजमार्ग सञ्चालनमा आए पनि विभिन्न स्थानमा सडक भासिने, पहिरो जाने तथा ढुंगा–माटो खस्ने जोखिम कायमै रहेकाले प्रशासनले चालक तथा यात्रुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।