सात महिनापछि खुल्यो आन्तरिक उडान, दैनिक ४३ वटा उडानलाई अनुमति
काठमाडौं - कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपछि झण्डै ७ महिना बन्द भएको आन्तरिक हवाई सेवा आजबाट सुरू भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी उडान गर्नका लागि एयरलाइन्सहरूलाई अनुमति दिएको हो ।
सोमबार बिहान ७ बजे काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको जहाजले ७ महिनापछिको पहिलो आन्तरिक उडान भरेको हो ।
आगामी ९ दिनसम्म सामान्य अवस्थाको २५ प्रतिशत हवाई उडान हुनेछन् । सामाजिक दुरी कायम गरी पूर्ण स्वास्थ्य सतर्कता अपनाएर हवाई यात्रा सेवा भएको विमानस्थल कार्यालयले जनाएको छ ।
उडान गर्दा यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्नेछ। त्यस्तै भाइजर पनि उनीहरूले अनिवार्य लगाउनुपर्ने छ तर भाइजर भने एयरलाइन्स आफैले व्यवस्था गर्नेछन्। जसको लागत टिकटमै जोडिने विमानस्थल कार्यालयले जनाएको छ ।
पहिलो चरणमा दैनिक ४३ वटा उडानलाई अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
फेसबुक पेज Like गर्नुहोस