एजेन्सी - अमेरिकी सरकारले भेनेजुएलासँग भएकाे तेल सम्बन्धी सम्झौताको विस्तृत विवरण सार्वजनिक गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको घोषणा गरेपछि ह्वाइट हाउसले मंगलबार तथ्यपत्रमार्फत सम्झौताका प्रमुख प्रावधानहरू सार्वजनिक गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको हाे । सम्झौता अनुसार भेनेजुएलाका अन्तरिम अधिकारीहरूले अमेरिकी निजी कम्पनी ‘नर्थ अमेरिकन ब्लु इनर्जी पार्टनर्स’ (एनएबीईपी) लाई झन्डै ६५ अर्ब ब्यारेल प्रमाणित भण्डार भएका १७ वटा तेल क्षेत्र सञ्चालनका लागि १ सय वर्षको अनुमति प्रदान गरेका छन् ।
यसको सट्टामा एनएबीईपीले अमेरिकी युद्ध विभाग अन्तर्गतको ’अफिस अफ स्ट्रेटेजिक क्यापिटल’ लाई आफ्नो मूल कम्पनीमा ३५ प्रतिशत इक्विटी हिस्सेदारी प्रदान गरेको हाे। साथै कम्पनीले अमेरिकी विदेश विभागलाई आफूद्वारा सञ्चालित अहिलेका र भविष्यका सबै क्षेत्रबाट प्राप्त हुने उत्पादनको २० प्रतिशत हिस्सा उत्पादन लागतमै खरिद गर्ने अधिकार तथा बाँकी ८० प्रतिशत खरिद गर्नका लागि ’पहिलो प्राथमिकताको अधिकार’ पनि प्रदान गरेको छ ।
तथ्यपत्रमा उल्लेख भए अनुसार यो कम्पनीको सञ्चालक समितिमा नियुक्त हुने सदस्यका सम्बन्धमा अमेरिकी सरकारले रोक लगाउन सक्ने अधिकार राख्नेछ । साथै सञ्चालक समितिका अधिकांश सदस्य अमेरिकी नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ । सम्झौता अमेरिकी कानून अनुसार कार्यान्वयन हुने तथा यससँग सम्बन्धित विवाद अमेरिकी अदालतको अधिकार क्षेत्रमा रहने खबरमा उल्लेख छ ।

.gif)


