काठमाडौं -  कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण भारतमा एक जनाको मृत्यु भएको छ । कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी हालै साउदीबाट भारत फर्केका थिए ।

कर्नाटक राज्यका स्वास्थ्य तथा परिवार कल्याण विभागले भनेको छ, ‘यो विषयमा सबै दिशानिर्देशनहरुको पूर्ण पालना भइरहेको छ । उनको सम्पर्कमा आएका सबैलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ । ती व्यक्ति तेलंगनाको एक निजी अस्पतालमा गएका थिए यस कारण तेलंगना सरकारलाई पनि सचेत गराइएको छ ।’

केन्द्र सरकारद्वारा जारी विज्ञप्तिका अनुसार साउदीअरबबाट फर्केपछि स्वास फेर्न अप्ठ्यारो, खोकी र निमोनियकोल लक्षण देखिएपछि मार्च ६ मा एक डाक्टरले उनको घरमा नै उपचार गरे ।

तर, स्वास्थ्य लगातार बिग्रेपछि मार्च ९ मा उनी कलबुर्गीमा एक निजी अस्पतालमा भर्ना भए । अस्पतालको प्रराम्भिक जाँचमा उनलाई कोरोना भाइरसको संक्रमणको आशंका गरियो ।

त्यसपछि विस्तृत जाँचका लागि बेंग्लोरको ल्यावमा परीक्षण भयो । जाँचको रिपोर्ट आउनु अगाबै उनलाई हैदराबादको एक निजी अस्पतालमा भर्ना गरियो । त्यसपछि मार्च १० मा उपचारकै क्रममा उनको मृत्यु भयो ।