कोरोनाभाइरस: एकै दिन २४२ को मृत्यु, संक्रमितको संख्या १० गुणाले बढ्यो
काठमाडौं - कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या अघिल्ला दिनहरुको तुलनामा बुधबार १० गुणाले बढेको छ। मृत्युको संख्या पनि अघिल्लो दिनको तुलनामा दुई गुणाले बढेकाे छ ।
चीनको हुपेई प्रान्तमा मात्रै १२ फेब्रुअरी बुधबार संक्रमणबाट २४२ जनाको ज्यान गएको छ। एकैदिन १४,८४० नयाँ सक्रमित भेटिएका छन् भने ३,४४१ को उपचार पछि घर फर्किएको चीनको राष्ट्रिय आयोगले जनाएको छ।
यससँगै विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६०,०६३ पुगेको छ भने मृतकको संख्या १,३६३ नाघेको छ। साथै ५,६८० को उपचार सफल भएको आयोगको भनाइ छ।
सङ्क्रमणको केन्द्रबिन्दु हुपेई प्रान्तमा सोमबार १०३ जनाको मृत्यु भएको थियो भने आइतबार ९७ जनाको मृत्यु भएको थियो । प्रकोपले हरेक दिन मृत्यु हुने बिरामीको सङ्ख्या निरन्तर उकालो लागि रहेको छ ।
सोमबारसम्म मृतकको संख्या बढे पनि नयाँ सङ्क्रमणको सङ्ख्या हरेक अघिल्लो दिनको तुलनामा घटेको भनिएको थियो। कोरोनाभाइसको संक्रमण सन् २००२-२००३ मा फैलिएको सार्स प्रकोपभन्दा ठूलो महामारीका रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सङ्कट नियन्त्रण गर्न सघाउन विश्व स्वास्थ्य सङ्गठनले चिकित्सकहरुको टोली बेइजिङ पठाएको छ ।
फेसबुक पेज Like गर्नुहोस