काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्षको ओस्कार अवार्ड दक्षिण कोरियाको फिल्म 'पारासाइट'ले जितेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रबार कोलोराडोमा भएको चुनावी र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्, ‘यो वर्षको ओस्कार अवार्ड कति खराब थियो, तपाईँहरुले हेर्नु भयो ? एण्ड द विनर इज‘दक्षिण कोरियाली चलचित्र, खासमा के थियो त्यो ? दक्षिण कोरियासँग हाम्रो व्यापारिक सम्बन्धमा धेरै समस्या छ । यस्तो परिवेशमा उनीहरुलाई नै सर्वोत्कृष्ट चलचित्रको अवार्ड दिइयो ?’

ट्रम्पले पारासाइट राम्रो चलचित्र हो या होइन थाहा नभएको बताए । उनले भने, ‘म लाग्छ त्यो राम्रो चलचित्र होला, राम्रो विदेशी भाषाको चलचित्र‘तर सर्वोत्कृष्ट भने होइन । विगतमा यस्तो कहिले भएको थियो ?’

दक्षिण कोरियाली चलचित्र पारासाइटले यो वर्षको ओस्कार अवार्डमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो । ओस्कारको ९२ वर्षको इतिहासमा गैरअंग्रेजी भाषाको चलचित्रले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको यो पहिलो पटक हो ।