भारतले निर्यातमा रोक लगाएपछि नेपालमा आकाशियो प्याजको मूल्य
काठमाडौं – भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको मूल्य आकाशिएको छ । भारतमा प्याजको अभाव भएपछि भारत सरकारले प्याज निर्यातमा रोक लगाउने निर्णय आइतवार गरेको थियो ।
आन्तरिक बजारमै प्याजको अभाव भएकाले निर्यात नगर्न भारत सरकारले अर्को आदेश नभएसम्मका निर्देशन दिएको छ । त्यसलगत्तै सोमवार नेपालमा प्याजको मूल्य प्रतिकेजी थोकमा १ सय २० रुपैयाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले जानकारी दिएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार सोमवार प्याजको खुद्रा मूल्य प्रतिकेजी १ सय ३० रुपैयाँ देखि १ सय ४० रुपैयाँसम्म पुगेको छ ।आइतवार प्याजको थोक मूल्य प्रतिकेजी ९० रुपैयाँ र खुद्रा मूल्य प्रतिकेजी १ सय ५ रुपैयाँ रहेको थियो ।
नेपालमा खपत हुने प्याजको ठूलो हिस्सा भारतबाट आयात हुने गरेको छ । नेपालमा खपत हुने प्याजको करीब ९० प्रतिशत भारतबाटै आयात हुने भएकाले नेपालको प्याज बजार भारतमा नै निर्भर रहेको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले जानकारी दिएको छ ।
यसअघि भारतमा प्याजको उत्पादन कम भएका कारण केही अघिदेखि भारतमा प्याजको अभाव सिर्जना भएको थियो । भारतमा प्याजको अभाव सिर्जना भएसँगै मूल्य पनि छोटो अवधिमै ८० रुपैयाँ प्रतिकेजीसम्म पुगेको थियो । आइतवारदेखि भारतले एक पटकमा बढीमा ५ केजी मात्रै प्याज खरिद गर्न सक्ने व्यवस्था सहित प्याज निर्यातमा कडाइ गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस