काठमाडौं - पाकिस्तानी सहर क्वेटास्थित एक होटलमा बम विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

दक्षिण-पश्चिमी प्रान्त बलुचिस्तानको राजधानी क्वेटास्थित होटल सेरेनाको पार्किङमा कारबम बिस्फोट भएको हो । बलुचिस्तान लामो समयदेखि पृथकतावादी विद्रोह चलिरहेको प्रान्त हो। बीबीसीका अनुसार उक्त आक्रमण पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङलाई लक्षित गरिएको आशङ्का गरिएको छ । तर, विस्फोटका बेला उनी घटना भएको क्षेत्रमा थिएनन्।

पाकिस्तानी तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ। उक्त समूह र अन्य लडाकु सङ्गठनहरूले पछिल्ला महिनाहरूमा अफगानिस्तान सँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन्।