अष्ट्रेलियाको सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षा, जनजीवन प्रभावित
काठमाडौं - अष्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै ठूलो वर्षा भएको छ। वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको छ भने जनजीवन समेत प्रभावित भएको छ।
बाढीका कारण हजारौँ मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्। मौसम मामिला हेर्ने निकायका अनुसार गएको चार दिनमा त्यहाँ झन्डै ४०० मिलिमिटर पानी परेको छ। त्यो निकायले अचानक बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी दिएको छ। झन्डै एक लाख घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।
वर्षाले डढेलो निभ्याे
यो वर्षाले केही महिनायता न्यू साउथ वेल्स राज्यका ठाउँ–ठाउँमा फैलिएको डढेलो भने निभाइदिएको छ। विगत ७४ दिनदेखि स्वालहेवन नगरनजिकै फैलिरहेको करोवान नामक डढेलो समेत निभेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । डढेलोले ५०० हेक्टर क्षेत्रफल तहसनहस भएको छ । ३१२ वटा घर जलेका छन् ।
न्यू साउथ वेल्समा ३१ वटा छुट्टा–छुट्टै डढेलो फैलिरहेको थियो । वर्षाका कारण वर्षौँदेखि सुक्खा व्यहोरिरहेको यो क्षेत्रमा पानीको आपूर्ति प्रणालीमा भरथेग भएको छ।
सिड्नीको अधिकांश पानीको माग पूर्ति गर्ने वारागाम्बा बाँध ७० प्रतिशत भरिन लागेको बताइएको छ। र, गएको सातामात्रै त्यहाँ जम्मा ४२ प्रतिशत पानी भरिएको थियो।
यस्तै, मौसम विभागले डढेलो प्रभावित क्षेत्रहरू नै बाढीको बढ्ता खतरामा रहेका र तीव्र गतिमा बग्ने भेलले ठूलो परिमाणमा फोहोर बगाएर ल्याउने चेतावनी भने दिएको छ। यस्तै, समुद्री तटमा ठूल्ठूला छाल आउने ठानिएको छ
मौसमसम्बन्धी चेतावनी
अष्ट्रेलियाको सबैभन्दा धेरै जनसङ्ख्या भएको न्यू साउथ वेल्स राज्यको सम्पूर्ण तटीय क्षेत्रमा हाल मौसमसम्बन्धी कडा चेतावनी जारी गरिएको छ। सिड्नीमा मात्र कम्तीमा २०० जना मानिसलाई आपत्कालीन सेवाका कर्मचारीहरूले उद्धार गरेका छन्।
विहान त्यहाँको रेल तथा डुङ्गा सेवा अवरुद्ध भएको छ। सिड्नीको एउटा मुख्य स्टेशन सेन्ट्रलका कैयौँ प्ल्याटफर्म पानीमा डुबेका छन्। कयौँ स्कूल बन्द छन्। मान्छेलाई सकेसम्म घरमै बस्न भनिएको छ। मध्य सिड्नीमा सोमवार पानी रोकिएको छ तर यो साताभरि थप वर्षाको पूर्वानुमान समेत गरिएको छ।-
फेसबुक पेज Like गर्नुहोस